
पाँचथर — पाँचथरको फालेलुङ गाउँपालिका-३ तांग्लेपाका ३३ वर्षीय उदय केरुङले सगरमाथाको सफल आरोहण गरेका छन् । उनले आइतबार बिहान ६ बजेर ८ सेकेन्ड जाँदा सगरमाथाको सफल आरोहण गरेका हुन् ।
यसअघि ‘मेरा पिक’ र विश्वको आठौं अग्लो मनास्लु हिमालको सफल आरोहण गरिसकेका केरुङ यस पटक एट–के एक्सपिडिसन ट्रेकिङ कम्पनीमार्फत सगरमाथाको आरोहणमा गएका थिए ।
उनी बिहीबार मध्यरात आधार शिविरबाट आरोहण दलका २२ जना सदस्यसँगै सगरमाथा चुचुरोतर्फ प्रस्थान गरेका थिए । आरोहण दलमा सहभागीमध्ये अधिकांशले बिहान ७ बजेभित्र सगरमाथाको सफल आरोहण गरिसकेको एट–के एक्सपिडिसन कम्पनीका व्यवस्थापक पेम्बा शेर्पाले बताए ।
सगरमाथा आरोहण गर्ने केरुङ पाँचथरको फालेलुङ गाउँपालिकाको पहिलो र पाँचथर जिल्लाकै दोस्रो व्यक्ति हुन् । यसअघि पाँचथर मङजावुङका सुशील सेर्माले सगरमाथा आरोहण गरिसकेका छन् ।
कांतिपुरको सहयोग