
सतही कुरा गरेर सस्तो लोकप्रियता आर्जन गर्न खोजेको भान हुन्छ।
लिम्बूवानमा पहिलो सम्मेलन
वि.सं.२०१६ सालमा तेह्रथुममा लिम्बूवानको विशाल सम्मेलन सम्पन्न भयो ।पहिलोपल्ट लिम्बूवानको सम्मेलन भएको यो ऐतिहासिक अवसर थियो । सम्मेलनमा तत्कालीन उपमन्त्री देउमान आङदेम्बे, ललितबहादुर सुब्बाजस्ता प्रबुद्ध व्यक्तित्वहरू सहभागी हुनुहुन्थ्यो। सम्मेलनले सुब्बा प्रेमबहादुर अध्यक्ष र म सचिव भएको ‘लिम्बूवान सुरक्षा सुरक्षित संगठन’ निर्माण गर्यो । काँग्रेसको सरकारलाई फाल्ने र राजा महेन्द्रलाई सहयोग गर्ने संगठनको भित्री उद्देश्य रहेको थियो । सम्मेलनबाट काँग्रेसको विरोध गर्दै राजा महेन्द्रलाई सहयोग गर्ने सहमति गर्यौ।


‘लिम्बूवान सुरक्षा सुरक्षित संगठन’का तर्फबाट त्यस भेगका समस्याहरूलाई राजा महेन्द्रसँग राख्न प्रतिनिधिमण्डल लिएर हामी टोलीसाथ काठमाडौं गयौं । काठमाडौं पुगेपछि हाम्रो टोली दुई समूहमा विभाजन भयो । सुब्बा प्रेमबहादुर लगायतका केही साथीहरू हामीबाट अलग हुनुभयो । हाम्रो समूहमा मलगायत देउमान आङदेम्बे, बमबहादुर सम्बाहाम्फे, साहू काजीमान श्रेष्ठ, नारायणभगत प्रधानाङ्ग थियौं । टोली नेताको रूपमा देउमान आङदेम्बेलाई अगाडि सान्यौं । हामी कसैले पनि यसभन्दा अगाडि राजासँग दर्शनभेट गर्ने सौभाग्य पाएका थिएनौं । राजासँग दर्शनभेट गर्दा कसरी प्रस्तुत हुने भन्नेबारे विस्तृत छलफल गरेर टुङ्गोमा पुगी दर्शनभेट गरेर सबै कुरा जाहेर गयौं ।


राजा महेन्द्रसँग लिम्बूवानका प्रतिनिधिमण्डलको दर्शनभेटमा किपट पनि लागू गर्ने र पञ्चायत पनि कायम गर्ने सहमति भयो । श्री ५ महेन्द्रबाट किपट भन्ने शब्द थप गरी लालमोहर बक्स्यो ।पछि सूर्यबहादुर थापा प्रधानमन्त्री भएपछि किपट प्रथा अन्त्य भयो । सूर्यबहादुर थापाले किपटको अन्त्य गराएकोले आम लिम्बूहरू सूर्यबहादुर थापाप्रति आज पनि असन्तुष्ट छन् ।


मेरै आह्वानमा वि.सं. २०२४ सालमा लिम्बूवानको दोस्रो ठूलो सम्मेलन तेह्रथुममा सम्पन्न भयो। सो सम्मेलनमा तिलविक्रम नेम्वाङ (वैरागी काईंला) लगायतका लिम्बूवानका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।


लिम्बूवानका विषयमा लेख र पुस्तक लेख्ने तथा ठूलठूला दार्शनिक कुरा छाँट्ने विद्वान्हरूले समेत त्यस क्षेत्रको इतिहासलाई आद्योपान्त पढ्नुपर्छ । कतिले त अहिले सतही कुरा गरेर सस्तो लोकप्रियता आर्जन गर्न खोजिरहेका जस्तो भान हुन्छ । लिम्बूहरूको बाहुल्य रहेका पूर्वाञ्चलका पहाडी जिल्लाहरूको भ्रमण गरेर वास्तविकता बुझ्ने हो भने यथार्थ बेग्लै पाइन्छ । तर राजधानीमा बस्ने केही टाठाबाठाहरूले लिम्बूहरूको आधिकारिक धारणा भन्दै जथाभावी बोलिरहेको सुन्दा मलाई दुःख लाग्छ ।


२००७ सालको क्रान्ति
२००७ सालको क्रान्तिको आगो देशभरि फैलिएको थियो । प्रजातन्त्रप्रति आस्था राख्ने टाठाबाठाहरू विस्तारै बोल्न थाले । कैयन् ठाउँमा क्रान्ति समर्थकहरूले सदरमुकाम नै कब्जा गरेका थिए । समानान्तर सरकार बनाएर उनीहरूले राज्य गर्न थालेका थिए । राणा सरकारले पठाएका बडाहाकिमहरूलाई समेत त्राहिमाम तुल्याएका थिए । झापा, इलाम, पाँचथर, धनकुटा, मोरङ, सुनसरी, सप्तरीलगायतका पूर्वाञ्चलका प्रमुख ठाउँहरूमा पनि क्रान्तिको आगो सल्किएको थियो ।
राजा त्रिभुवन सपरिवार दिल्ली सवारी भएपछि क्रान्ति झन् चर्कियो र २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा भयो । राष्ट्रपिता श्री ५ त्रिभुवनले देशवासीका नाममा सन्देश बक्सँदै राणा शासन समाप्त भएको र प्रजाहरू मिलेर अब नेपालको शासन पद्धति सञ्चालन गर्ने घोषणा गरिबक्स्यो । यसले जनतामा ठूलो उत्साह छायो । म त्यतिबेला केवल ११ वर्षको भएपनि २००७ सालको परिवर्तनले ल्याएको खुशियाली र उत्साह केहीकेही बुझ्न सक्ने भएको रहेछु ।

वि.सं.१९०३ भदौ ४ गते जंगबहादुरले कोतपर्वमा आफ्ना विरोधीहरूलाई काटेर प्रधानमन्त्री र प्रधानसेनापति बनेपछि राणा शासनको सुरुवात भएको थियो । एकतन्त्री जहाँनिया शासन १०४ वर्षसम्म चल्यो र २००७ सालमा प्रजातान्त्रिक पद्धतिको अभ्युदय भएपछि मात्रै विधिवत रूपमा राणा शासन समाप्त भएको मानिन्छ ।
क्रान्तिका नाममा पूर्वाञ्चलका धेरै ठाउँमा नेपाली कांग्रेसले उत्पात मच्चायो । कांग्रेसका नेता, कार्यकर्ताहरूले सरकारी कार्यालयदेखि लिएर धनीमानीहरूका सम्पत्ति पनि लुटेर लगे । गाउँमा भेडाबाखा र कुखुरा पालेर बसेका किसानका पनि अन्न र पशुपक्षी लुट्ने काम भयो । जताततै लुटपाट मच्चिएपछि पानी भर्न पँधेरामा गएका महिलाहरू पनि आपसमा झगडा हुँदा धारे हात लगाएर ‘तेरो घरमा कांग्रेस पसोस्’ भन्ने गर्थे ।
२०५२ सालमा माओवादीको विद्रोह सुरु भएपछि यो उखान विस्तारै लोप हुँदै गयो । किनभने २००७ सालमा नेपाली कांग्रेसले जति बितण्डा मच्चाएको थियो त्यसको हजारौं गुणा माओवादीले आतंक मच्चाउँदा हजारौंको ज्यान गएको र लाखौं विस्थापित भएका थिए । नत्र भने विगतमा कांग्रेसप्रति जनस्तरमा व्यापक वितृष्णा कायम थियो ।
विकासवादी नेता स्व.पद्मसुन्दर लावतीको नवौं स्मृति दिवसमा फिदिममा लोकापर्ण भएको उहाँको आत्मकथा, ‘मेरो देश, मेरो परिवेश’ (दोस्रो संस्करण) को सम्पादित अंश । स्व. पद्मसुन्दर लाओतीको कान्छो छोरा सगुन लाओतीको सहयोगमा फालेलुङ न्युज डटकमबाट प्रकाशन।